कानुन फितलो हुँदा महिला हिंसा

काठमाडाैं | असोज १, २०७९

कानुन फितलो हुँदा महिला हिंसा

लक्ष्मी अधिकारी

 

प्रसिद्ध फ्रान्सेली नारीवादी चिन्तक सिमन डी वउवाले सन् १९४० मा महिलाका सम्बन्धमा व्यक्त गरेका विचार निकै मननीय छन्। महिलालाई बैङ्क खाता खोल्न देऊ, तीन जना महिलालाई एक जना पुरुषसरहको अदालतमा बयान दिन पाउने व्यवस्था गर र महिलाको जीवनको हरेक चरणमा बाँच्न पाउने हक कायम गर भनी नारीवादी चिन्तन र आन्दोलन गरिरहिन्। त्यसैगरी २२ सय वर्ष अघिदेखि नै प्रसिद्ध दार्शनिक प्लेटोले महिलाको दयनीय अवस्था सुधार गरी न्यूनतम मानवीय मूल्य पद्धतिको जीवनयापन गर्ने स्थितिको निर्माण गर्नुपर्छ भन्ने बारेमा विभिन्न कृतिमा उल्लेख गरेका छन्। 

यसबाट स्पष्ट हुन्छ कि युरोपियन समाजका महिलाले हजारौँ हजार वर्ष पहिलादेखि विभेद, उत्पीडन, अमानवीय व्यवहार र हिंसा भोग्दै आइरहेका रहेछन्। चरणबद्ध नारीवादी चिन्तन र आन्दोलनहरूले युरोपलगायत विकसित मुलुक नारी समानताको बाटोमा अग्रसर छन् भने विकासोन्मुख मुलुक भने अझै पनि समस्याग्रस्त छन्। यसो हुनुमा विविधायुक्त सामाजिक परिवेश नै हो। 

नेपालमा पनि महिलाप्रति गरिने विभेद उत्पीडन, अमानवीय व्यवहार र हिंसाका घटना व्याप्त नै छन्, मात्रै स्वरूपमा परिवर्तन हो। नेपालमा पछिल्ला दिनमा बालबालिका तथा महिला हिंसाका घटनाले विश्वसामु लज्जित नै हुनु परेको छ चाहे त्यो निर्मला पन्तको बलात्कार पछि हत्या होस् वा दैनानुदिन नेपाली समाजमा घटेका अन्य घटना हुन्। 

नारीप्रति गरिने विभेद, उत्पीडन र घरेलु हिंसाका विविध आयाम छन्। सबै आयामका बारेमा एउटा लेखमा सम्भव नहोला तर पनि विविधतापूर्ण नेपाली समाजमा भिन्न भिन्न जातीय÷सांस्कृतिक समूहमा भिन्न भिन्न स्वरूपमा महिला हिंसाका घटना घट्ने गरेका छन्। पितृसत्ता तथा संरचनात्मक दृष्टिले आमनेपाली महिलाले हिंसा भोग्नुपरेको यथार्थ त छँदैछ भने घरपरिवार तहमा भने केही जातीय÷सांस्कृतिक समूहमा न्यून र केही जातीय-सांस्कृतिकमा अधिक मात्रामा पाइन्छ। केही जातीय÷सांस्कृतिक समूह न्यून तहको घरेलु हिंसा हुनुमा नारीवादी चिन्तन र आन्दोलनका करणले नभई विशिष्ट खालको सामाजिक–सांस्कृतिक परिवेश नै हो। विभिन्न अध्ययनका नतिजाले देखाएअनुसार नेपालमा ४० प्रतिशत प्रजनन समूह (१५ देखि ४९ वर्ष) का महिलाले भौतिक, मानसिक र यौनजन्यमध्ये कुनै न कुनै स्वरूपको हिंसा श्रीमान् वा केटा साथीबाट भोग्नुपरेको छ। 

यस प्रकारको हिंसा अस्तित्वमा रहेका प्रायः सबै जातीय एवं सांस्कृतिक समूहमा व्याप्त छ। यसमा पनि मधेशी दलित समुदायका ६० प्रतिशत महिलाले उच्च तहमा हिंसा भोगिरहेका छन् भने ५० प्रतिशतको हाराहारीमा अन्य जातीय तथा धार्मिक पन्थका मधेशी महिलाले यस प्रकारको हिंसाको चपेटामा परेका छन्। न्यून व्यक्तिगत तहको हिंसा भोग्नेहरूमा किराँती महिला पर्दछन्। समग्रतामा नेपाली महिला तथा बालबालिकासम्बन्धी अपराध सङ्ख्यात्मक रूपमा प्रत्येक वर्षमा वृद्धि भइरहेको तथ्य नेपाल प्रहरीको प्रकाशनले देखाइरहेको छ। 

घरपरिवारको तहमा विवाहित महिला विशेष गरी बुहारीहरूले त्रिकोणात्मक हिंसा खेपिरहनु परेको अध्ययनहरूले देखाएका छन्। पहिलो त श्रीमान् वा केटा साथीबाट हिंसा भोग्नुपरेको छ भने दोस्रो सासू–ससुरा र तेस्रो नन्द–अमाजूबाट हुने विभिन्न स्वरूपका हिंसा हाम्रो समाजमा धेरै हुने गरेको पाइन्छ। कतिपय अवस्थामा त घरकी बुहारीका लागि हिंसा दैनिक नियती नै बनेको छ। पारिवारिक संरचना, पितृसत्ता, परिवारका सदस्यहरूको संस्कारगत हुर्काइ सिकाइ, चेतनाको स्तर, मध्यमवर्गीय परिवारमा इज्जत संस्कृतिको धारणा र सबैभन्दा महìवपूर्ण शक्ति सम्बन्धको अवस्था नै हिंसाका मूल कारक हुन्। पितृसत्ताले गर्दा घरपरिवारमा आर्थिक, पुरुषत्व, नेतृत्व, निर्णय प्रक्रिया र अन्य सम्पूर्ण शक्ति पुरुषमा निहित हुन्छ। 

यस्तो अवस्थामा महिला पुरुषको अधीन रहनुपर्ने र आफ्ना सम्बन्धमा आवाज उठाउँदा हिंसा सामना गर्नुपरेको अवस्था छ। नेपालमा जातमा आधारित (जस्तै ब्राह्मण, क्षेत्री, मधेशी समुदाय, दलित आदि) र धार्मिक अल्पसङ्ख्यक मुसलमान समुदायका घरपरिवारमा कुनै न कुनै रूपको महिला हिंसा भएको पाइन्छ। मधेशी समुदायका र दलित महिलाले भोगेका हिंसा छरप्रस्ट रूपमा बाहिर आएका छन् भने पर्वते ब्राह्मण–क्षेत्रीका महिलाले भोगेका हिंसात्मक घटना पर्याप्त रूपमा बाहिर ल्याइएका छैनन् किनभने ती हिंसात्मक घटना बाहिर आएमा घरको इज्जत जान्छ भनेर दबाउने गरिन्छ। कुल–कुटुम्ब, इष्टमित्र, छरछिमेक र समाजमा घरको प्रतिष्ठा आँच आउने कारण देखाउँदै महिला हिंसाका घटना लुप्त अवस्थामा रहनु एकातर्फ महिलाले प्रताडना भोगिरहनु परिरहेको छ भने अर्कातर्फ त्यस प्रकारका घटनाक्रमले घरपरिवार विखण्डन भइरहेका छन्। यसर्थ नेपाली समाजका घरपरिवार खण्डीकरण हुनुमा आधुनिकताको प्रभाव मात्र नभई महिलामाथि हुने घरेलु हिंसा पनि प्रमुख कारण नै मान्नुपर्छ। 

आज नेपाली समाजको कथित उच्च जातीय मध्यमवर्गीय घरपरिवार महिला हिंसाका दृष्टिले समस्याग्रस्त छन। यही वर्ग–समुदायमा महिला हिंसा हुनुमा महिलाको शक्ति सम्बन्धको अवस्था नै हो। उक्त घरपरिवारमा घरमुली ससुरा वा सासू हुन्छन् भने शक्ति पनि उनीहरूमा निहित हुन्छ। घरकी बुहारी शक्तिविहीन हुन्छिन्। ससुरा वा सासूमा निहित शक्तिको केही हिस्सा नन्द–अमाजूमा साझेदारी भएको अवस्थामा ती बुहारी पटक पटक महिला हिंसा भोगिरहेकी हुन्छिन्। झन् त्यसमाथि पनि ससुराको शक्ति छोरा–बुहारीमा हस्तान्तरण नभई सासूमा निहित हुन पुगी नन्द–अमाजूमा पनि शक्ति साझेदारी हुन पुग्दा ती बुहारीहरूले उच्च तहको मानसिक प्रताडना भोग्नुपरेको हुन्छ। त्यस्ता घरपरिवारका ससुरा–सासूले बुहारीलाई हिंसा गरिरहँदा आफ्नी छोरीलाई पनि छोरीको घरमा हिंसा र प्रताडना भोगिरहनुपर्छ भन्नेसम्मको चेत आएको हुँदैन। यस्तो अवस्थामा देखेका र भोगेका आजको युवायुवती र वयस्क एकातर्फ लर्को लागेर विकसित मुलुकतिर पलायन भइरहेका छन् भने अर्को तर्फ यहाँ रहेकाहरूमा आपसी सम्बन्ध तिक्तता र परिवार विखण्डन भइराखेको छ।

यही समाजमा एक अङ्ग किराँती महिला पारिवारिक तहमा स्वतन्त्रतापूर्वक न्यून हिंसासहित मातृसत्ताको उपयोग गर्दै आयातीत सांस्कृतिक मूल्यमान्यतालाई चुनौती दिइरहेका छन्। शैव–शाक्त र मुन्धुम सांस्कृतिक धरोहरलाई आत्मसात् गर्दै आएका किराँती एवं आदिवासी समुदायका महिला नेपाली मौलिकतासहितको महिला समानता र हिंसामुक्त समाजको अनुपम उदाहरण हामीमाझ छँदैछ। यही नै नेपाली मौलिकता हो यसलाई हर घरपरिवारमा विस्तार गर्न सकियो भने महिला हिंसामुक्त समाजको दिशातर्फ अग्रसर हुन सकिनेछ। 

अन्त्यमा, नेपालमा महिला हिंसाका घटना दिनानुदिन विभिन्न स्वरूपमा प्रकट हुँदै जानुमा बढ्दो बजारवाद र भोगवादी चिन्तन पनि प्रमुख कारकमध्ये नै पर्दछ। आयातित संस्कृतिले नेपालको समानताको मौलिक परम्परालाई क्षयीकरण गरिरहेको छ। जसले गर्दा संरचनात्मक हिंसा थप कसिलो भई राज्य तहमा पनि प्रतिविम्बित हुन पुगेको छ। आज नेपालमा महिला कुनै पनि तहमा सुरक्षित छैनन्। महिला हिंसा न्यूनीकरणका सम्बन्धमा पर्याप्त कानुनी प्रयास भए पनि कानुनको सार्थक कार्यान्वयन हुन नसक्दा, अपराधको राजनीतिक संरक्षण र दण्डहीनताको स्थितिले महिला हिंसा बढिरहेको छ। कानुनी प्रयासले मात्र महिला हिंसा न्यूनीकरण गर्न सकिँदो रहेनछ भन्ने कुरा हाम्रा अभ्यासले पुष्टि गरिसकेको छ। यसर्थ सामाजिक–आर्थिक रूपान्तरण, न्यायोचित ढङ्गले शक्तिको बाँडफाँट र मूल्य पद्धतिमा आधारित वैचारिक राजनीतिको स्थापना नै महिला हिंसा न्यूनीकरणको लक्षित मार्ग हुनेछ।    

साभारः गोरखापत्र

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।   प्रेस सेन्टर कैलालीले आज धनगढी विमानस्थलमा आयोजना ग...

थप पढ्नुहोस्

विगत ४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन् । कतिपय नीति बने पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको उनीहरुको गु...

थप पढ्नुहोस्

काठमाडौँ, चैत २८ गते । विदेशी विनिमय सञ्चिति बढाउन आयात नियन्त्रण तथा बाह्य क्षेत्रबाट विदेशी मुद्रा आप्रवाह बढाउन एकसाथ पहल भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले पहल गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले आइत...

थप पढ्नुहोस्