'अर्बमाथिको लगानी छ, प्याराग्लाइडिङ् उडिरहनेमा विश्वस्त छु'

पाेखरा | साउन ३, २०७९

'अर्बमाथिको लगानी छ, प्याराग्लाइडिङ् उडिरहनेमा विश्वस्त छु'

पाेखरा:  नेपाल हवाई खेलकुद संस्था (ना)का नवनिर्वाचित अध्यक्ष हुन् सुनिलबहादुर भट्टराई । युवावस्था सुरु भएदेखिनै पर्यटन सम्बन्धित व्यापार, व्यवसायमा संलग्न भट्टराइको काँधमा यतिबेला नाको समेत जिम्मेवारी थपिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएसँगै हवाई खेलकुद क्षेत्रमाथि कालो बादल मडारिन थालेको हो । विमानस्थल सञ्चालन हुने दिन जति नजिकिँदै छ, यससम्बद्ध व्यवसायीहरुको चिन्ता पनि बढ्दैछ । यही सेरोफेरोमा भट्टराईलाई सोधिएका ५ प्रश्नः

 

के हो हवाई खेलकुद संस्था (ना) ?

– पोखरामा स्थापना भएको ना मुलतः प्याराग्लाइडिङ्, अल्ट्रालाइटसँग सम्बन्धित क्षेत्रको खेल, पाइलट र व्यवसायी आबद्ध संस्था हो । अझ भनौ, समग्र हवाईखेलसँग सम्बन्धित सबैको प्रतिनिधिमूलक संस्था हो । जसको उद्देश्य संस्थाको वकालत गर्नु, हक–हितको पक्षमा आवाज उठाउनु र व्यावसायिक मर्यादा पालन गर्नु हो । र, ना पोखराको सम्पत्ति हो । 
 

 

यस क्षेत्रमा अनुमानित कति लगानी होला ?

– १ अर्ब रुपैयाँमाथि । यस व्यवसायमा नपत्याउँदो तरिकाले लगानी बढिरहेको छ । प्याराग्लाइडिङ्मा प्रयोग हुने सम्पूर्ण सामग्री विदेशबाटै आयात गर्नुपर्ने भएकाले लगानी बढी छ । २ वर्ष कोरानाले शिथिल बनाएपछि बीचमा व्यापार नै ठप्प भयो नत्र लगानीको ग्राफ अझ बढ्ने थियो ।

 

विशेषतः प्याराग्लाइडिङ्मा विदेशीले पनि पोखरा नै रोजेको पाइन्छ नी ?

– हो । विदेशीको आकर्षण बढी छ । विश्वकै उत्कृष्ट ३ मा पोखरा पर्छ । यसको मुख्य कारणः पहिलो त प्रकृति नै हो । त्यसपछि सुरक्षा । पोखरामा प्याराग्लाइडिङ् निकै सुरक्षित मानिन्छ । सुरक्षामा प्रकृतिको देन छ । त्यसो त यो क्षेत्रमा दुर्घटना खासै हुँदैन त्यसमाथि फेवातालकाकारण दुर्घटना भएपनि ज्यानै जानसक्ने सम्भावना न्यून छ । 

 

त्यस्तै, वर्षमा करिब ३ सय ५० दिन प्याराग्लाइडिङ् उडाउन सकिने मौसम पोखरामा छ । व्यावसायिक उडान भरिने टेन्डमको समय लगभग आधा घण्टा भएपनि सोलोका सौखिनलाई ४–५ घण्टासम्म उड्न मिल्छ । हामीले पोखरामा आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीले गरेको प्रशंसाले पनि यहाँ आकर्षण बढाउँदै लग्यो, प्रचार भयो । 

 

नयाँ विमानस्थल संचालनपछि प्याराग्लाइडिङ अवरुद्ध हुने चर्चा छ नी ?

– चर्चामात्रै हैन, प्याराग्लाइडिङ् नै विस्थापन गर्ने कुरा भइरहेको छ । प्याराग्लाइडिङ् भनेको पोखराको विश्वविख्यात प्रडक्ट हो । नेपालीले अन्तर्राष्ट्रिय प्रतियोगितामा मेडल जितेको खेल हो । यहाँ नयाँ विमानस्थलकाकारण यसलाई विस्थापित गर्न खोजिदैछ । 

 

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि पोखरामा पर्यटन बढ्छ । यसमा दुईमत छैन । विमानस्थल हाम्रो (पोखरेलीको) गर्वको योजना हो । हामी खुशी छौ । तर विदेशको अभ्यास हेर्दा अन्तर्राष्ट्रिय विमानस्थल भएको क्षेत्रमा पनि प्याराग्लाइडिङ् सञ्चालन भइरहेको छ । हामी पर्यटकको संख्या बढाउने, उनीहरुको बसाई लम्ब्याउने कुरा गरिरहँदा भएका प्रडक्टलाई हटाउँदै जाने नीति स्वीकार गर्न सक्दैनौं । हिजोको दिनमा ह्वाइटवाटर राफ्टिङ्को क्रेज थियो । जसै बिनायोजना हाइड्रोपावर कम्पनी खोल्न थालियो आज त्यो प्रडक्ट नै हराएजस्तो भएको छ । 

 

यसर्थ, ६५ सदस्य र ३ सय ७५ पाइलट आबद्ध भएको हवाई क्षेत्रलाई विस्थापन गर्ने हो भने भोली पोखरा घुम्न आउनेको संख्यासमेत प्रभावित हुनसक्छ । पोखराले ताल र हिमालमात्रै बेचेर पर्यटन उकालो लाग्दैन । त्यसैले सम्बन्धित निकायले सुक्ष्म अध्ययन गरी विमानस्थल र प्याराग्लाइडिङ दुबैलाई चलायमान गराउनुपर्छ । 

 

नागरिक उड्डयन प्राधिकरणले विकल्प खोज्न भनिसकेको छ । अब के गर्ने ?


– हामीसँग सम्बन्धित उडान क्षेत्र पोखराको उत्तर–पश्चिम क्षेत्र हो । पोखराको विमानस्थलमा पूर्वी र पश्चिम क्षेत्र प्रयोग हुन्छ । यहीबाट समस्याको समाधान खोज्न सकिन्छ । आकस्मिक अवस्थामा विमानलाई ‘होल्डिङ जोन’ चाहिए प्याराग्लाइडिङको उडान क्षेत्र चाहिनसक्छ भन्ने हो । तर यो लिस्ट एप्रोच अर्थात कम आवश्यक/सम्भावनाको कुरा हो । 

 

विमानस्थल आसपास विमानको उँचाई लगभग ५ हजार मिटरमा हुने भएकाले पनि हामीबाट असर हुने सम्भावना छैन । त्यस्तै विमानस्थलबाट उडान भर्दा ‘लेफ्ट टर्न’ गरियो भने पनि हामी विस्थापित हुँदैनौ । त्यसो त पूर्वपर्यटनमन्त्री योगेश भट्टराईको पालमा ना, पर्यटन मन्त्रालय र नागरिक उड्डयन मन्त्रालयबीच भएको छलफलमा हामी विस्थापित हुनुपर्ने आधार देखिएको थिएन ।

 

त्यसेबला हामीले प्याराग्लाइडिङ्का यात्रुबाट टिकटमार्फत लिएको शूल्कको केही हिस्सा विमानस्थललाई दिने कुरा पनि गरेका थियौं । हामीले उपलब्ध गराउने पैसाले विमानस्थलको रिन तिर्न सघाउ पुगोस् भन्ने उद्देश्य पनि छ । 
अर्काे विकल्प भनेको आन्तरिक उडानलाई हामीबाट कुनै खतरा छैन । अन्तर्राष्ट्रिय उडानको सेड्युल भोलिदेखि नै ह्वात्तै बढ्ने पनि होइन । यसकारण हामीलाई उडान तालिका दिइयो भने हामी त्यसबाहेकको समय व्यवसायलाई निरन्तरता दिन्छौं ।

 

ना अझैपनि पर्यटन र व्यवसाय जोगाउन लागिरहेको छ । र, हाम्रो प्याराग्लाइडिङ् उडिरहनेमा हामी सम्पूर्ण आशावादी छौं । 
 

 

प्रस्तुतीः दिपक के श्रेष्ठ

ताप्लेजुङः  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माणाधीन कुल १२ मेगावाट क्षमता भएको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको एचआरटी सुरुङ निर्माण सम्पन्न भएको छ ।      आयोज...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास (जिडिआइ) का लाागि चिनियाँ नेतृत्वको प्रशंसा गर्दै यसबाट नेपालले पनि प्रशस्त मात्रामा ल...

थप पढ्नुहोस्

डोटी:    वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।  बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते हुनुभएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारी...

थप पढ्नुहोस्